Logo

Breaking News 1

स्वास्थ्य मन्त्रालयले भन्याे- पानीजन्य रोग बढ्न सक्छ सचेत रहनू

स्वास्थ्यसम्बन्धी कुनै समस्याबारे जानकारी आवश्यक परेमा १११५ मा सम्पर्क गर्न पनि मन्त्रालयकाे आग्रह



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्मा पानीजन्य रोग देखिने भएकाले सचेत रहन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले प्राकृतिक विपद्मा तत्काल चोटपटक लाग्ने र अन्य भौतिक क्षति देखापरे पनि त्यसपछि पानीजन्य रोग देखिने भएकाले त्यसबाट बच्न आग्रह गरेका हुन् ।

उनका अनुसार प्राकृतिक विपद्का बेला पानी प्रदूषित भई निम्त्याउन सक्ने पानीजन्य रोग पखाला, हैजा तथा कीटजन्य रोग डेङ्गी, मलेरिया पनि बढ्न सक्ने हुनाले सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको हो ।

त्यस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जानसमेत अनुरोध गरिएको छ । यस्तै, हाल प्राकृतिक विपद्मा परेकाहरूले राम्रोसँग खान, बस्न पाउने अवस्था नबने पछि खानासम्बन्धी रोग, आँखा पाक्ने रोग र मानसिक रोग पनि देखिने डा बुढाथोकीको भनाइ छ ।

प्राकृतिक विपद्पछि मन्त्रालयले स्वास्थ्य स्वयंसेविका, स्थानीय स्वास्थ्यकर्मी र जनप्रतिनिधिमार्फत शुद्ध उमालेको पानी पिउन र सरसफाइमा ध्यान दिन आवश्यक सचेतना फैलाउन आग्रह गरिएको उनले जानकारी दिए ।

मन्त्रालयले आपत्कालीन अवस्थामा आइपरी स्वास्थ्य संस्थामा जानु परेमा तालिम प्राप्त चालक र स्वास्थ्यकर्मीसहितको एम्बुलेन्सको व्यवस्था रहेकाले हटलाइन १०२ मा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ ।

यस्तै, आपत्कालीन अवस्थामा स्वास्थ्यसम्बन्धी कुनै समस्याबारे जानकारी आवश्यक परेमा १११५ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

मन्त्रालयले निरन्तर वर्षाका कारण पहिरो र तथा अन्य प्राकृतिक प्रकोप उत्पन्न भई दुर्घटना, चोटपटक र जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ७ : १२ बजे