Logo

अर्थ

कोरोला नाकाको स्तरोन्नति र व्यवस्थित सञ्चालनका लागि अध्यक्ष ढकालको आग्रह



काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङस्थित नेपाल–चीन सिमानाका कोरोला नाका थप स्तरोन्नति गरी व्यवस्थित सञ्चालन गर्न नेपाल सरकारसँग आग्रह गरेका छन्।

महासंघको गण्डकी प्रदेश समिति र जिल्लास्तरीय उद्योग वाणिज्य संघको टोलीसँग नाका निरीक्षण गरेपछि अध्यक्ष ढकालले नाकाको पूर्वाधार नेपालतर्फ अपर्याप्त रहेको उल्लेख गर्दै आवश्यक पूर्वाधार निर्माण, भन्सार कार्यालयको व्यवस्थित सञ्चालन र अध्यागमन सेवा छिटो सुरु गर्न आग्रह गरे।

ढकालका अनुसार, हाल भन्सार कार्यालय सञ्चालन भएबाट १२ दिनमा करिब १ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन भएको छ। उनले कोरोलाबाट हुने आवतजावतलाई व्यवस्थित गर्न पूर्वाधार र कर्मचारी व्यवस्थापन आवश्यक रहेको बताए।

उनले भने, कोरोलाबाट चीनको ल्हासासम्मको यात्रा दुई दिनमा पूरा हुने र एकै दिनमा नेपाल प्रवेश गर्न सकिने भएकाले चिनियाँ पर्यटकका लागि छोटो मार्गको रूपमा यस नाकाको महत्व बढ्नेछ। यस मार्गबाट मानसरोवर यात्राको पनि छोटो मार्ग उपलब्ध हुने जनाइएको छ।

अध्यक्ष ढकालले सरकारले कोरोला नाका वरिपरि आवश्यक सरकारी कार्यालय निर्माण नगरेको अवस्थामा निचुङमा पूर्वाधार निर्माण गरी स्थायी कार्यसञ्चालन, बिजुली, पानी, इन्टरनेट लगायत अन्य व्यवस्थापन सुनिश्चित गर्न सुझाव दिएका छन्।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ५ : ५९ बजे