Logo

राजनीति

एकीकृत समाजवादीले माओवादीसँग एकता वार्ताका लागि टोली गठन


१० आश्विन २०८२, शुक्रबार  

115
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्न नेकपा (एकीकृत समाजवादी) ले वार्ता टोली गठन गरेको छ। पार्टीका वरिष्ठ नेता डा. बेदुराम भुसालको संयोजकत्वमा गठित तीन सदस्यीय टोलीमा प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य रहेका छन्।

पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा जारी विज्ञप्तिमा वार्ता टोलीले वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टी तथा समूहहरूसँग एकता वार्ता अघि बढाउने उल्लेख गरिएको छ। विज्ञप्तिअनुसार एकताका सैद्धान्तिक आधारहरूमा पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी” राख्ने, नेपाली क्रान्तिको जनवादी चरण पूरा भइसकेको र अहिले समाजवादी चरणमा प्रवेश भइसकेको मान्ने तथा वर्तमान समाजमा आम जनता र दलाल नोकरशाही पूँजीपति वर्गबीचको अन्तर्विरोधलाई मुख्य अन्तर्विरोधका रूपमा स्वीकार गर्ने उल्लेख छ।

यसअघि माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चाबीच एकीकरण र ध्रुवीकरणका प्रयासहरू भइरहेको जानकारी दिएका थिए। समाजवादी मोर्चामा हाल माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन्।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ७ : ३८ बजे