काठमाडौं । सरकारले ६७० मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि युरोपेली संघसँग थप सहयोग मागेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले शुक्रबार नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोसँगको भेटमा आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटाउन र प्रसारण तथा वितरण प्रणाली सुधारका लागि सहयोग उपलब्ध गराउन आग्रह गरे।
घिसिङले आयोजनालाई सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै युरोपेली संघबाट नेपालको ऊर्जा क्षेत्रमा उपलब्ध सहयोगबारे धन्यवाद ज्ञापन गरे। उनले हरित ऊर्जा, ऊर्जा सुरक्षा, दक्षता र रणनीतिक महत्वका जलाशययुक्त आयोजनामा सहकार्य आवश्यक रहेको बताए।
राजदूत लोरेन्जोले नेपालको ऊर्जा क्षेत्रमा युरोपेली संघ निरन्तर सहयोगका लागि प्रतिबद्ध रहेको दोहोर्याइन्। भेटमा दूधकोसी आयोजनासहित नेपालका ऊर्जा आयोजना, हरित ऊर्जा, ऊर्जा सुरक्षा र दक्षता लगायत विषयमा छलफल गरिएको मन्त्रालयले जनाएको छ।
घिसिङले सरकारको प्राथमिकता निर्वाचन, सुशासन र आन्दोलनबाट क्षति पुगेका संरचनाको पुनर्निर्माण भए पनि विकास आयोजनाहरू अघि बढाउन कानुनी र नीतिगत सुधार, अन्तरमन्त्रालय समन्वय र विद्युत् बजार सुनिश्चिततामा केन्द्रित रहने बताए।
प्रतिक्रिया