Logo

समाचार

घटस्थापनापछि तीन दिनमा एक लाख ३८ हजार यात्रु काठमाडौँबाट बाहिरिए



काठमाडौँ । घटस्थापनापछि तीन दिनको अवधिमा एक लाख ३८ हजार दुई सय ९६ यात्रु काठमाडौँ उपत्यका छाडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते (घटस्थापना) का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४ र असोज ८ गते ५७ हजार ५५९ यात्रुले उपत्यका छाडेका हुन्।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीका अनुसार अध्ययन, व्यापार, रोजगारी लगायतका कारण उपत्यकामा बसेका मानिसहरू दसैँ मनाउन घर फर्किन थालेका हुन्। यात्रुहरूको मुख्य आवागमन थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट भएको बताइएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारका अनुसार अविरल वर्षासँगै राजमार्गमा पहिरो जाँदा सवारी आवागमन प्रभावित भएको छ। उनले विशेषगरी मुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरोका कारण सवारी साधन घण्टौँसम्म रोकिनु परेकाले यात्रुलाई गन्तव्यमा पठाउन समस्या भएको बताए।

दसैँ यात्रुहरूको चाप बढेसँगै काठमाडौँको नयाँ बसपार्कबाट दैनिक ५०० बस बाहिरिन थालेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले जानकारी दिए। उनका अनुसार सामान्य समयमा दैनिक औसतमा २५० बस मात्र बाहिरिन्थे।

यात्रुको सहजताका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न संघसंस्थाको सहकार्यमा उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ५ : ५६ बजे