Logo

खेलकुद

आईसीसीले अमेरिका क्रिकेटको सदस्यता निलम्बन गर्‍यो



काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले संयुक्त राज्य अमेरिकाको सदस्यता तत्काल प्रभावबाट निलम्बन गरेको छ।

मंगलबार बसेको आईसीसी बोर्डको बैठकले यूएसए क्रिकेटले बारम्बार संगठनात्मक दायित्व उल्लङ्घन गरेको ठहर गर्दै सदस्यता निलम्बन गर्ने निर्णय गरेको हो। आईसीसीले एक विज्ञप्ति जारी गर्दै “गत वर्षदेखि गरिएको समीक्षा र सरोकारवालासँगको छलफलका आधारमा यो निर्णय गरिएको” उल्लेख गरेको छ।

आईसीसीका अनुसार, अमेरिकी क्रिकेटमा प्रशासनिक संरचना कार्यान्वयनमा असफलता, अमेरिका ओलम्पिक तथा प्याराओलम्पिक समितिबाट मान्यता प्राप्त गर्न कुनै पहल नहुनु, र विश्व क्रिकेटको प्रतिष्ठामा आँच पुर्‍याउने गम्भीर लापरवाहीहरूले सदस्यता निलम्बनको कारण बनेका छन्।

यद्यपि आईसीसीले यो निलम्बनले खेलाडी र प्रतियोगितामा असर नपरोस् भन्ने उद्देश्य राखेको जनाएको छ। आईसीसीका अनुसार, अमेरिकी राष्ट्रिय टोलीहरूले आगामी लस एन्जलस २०२८ ओलम्पिकको तयारी सहित परिषद्का अन्य कार्यक्रमहरूमा भाग लिन पाउनेछन्।

आईसीसीले सदस्यताको अवस्थाबारे थप निर्णय आगामी समीक्षाबाट गर्ने जनाएको छ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ४ : ४३ बजे