काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ। पार्टीको बुधबार बसेको स्थायी कमिटी बैठकले चुनाव समयमै गराउने विषयमा सरकारलाई सचेत गराउने निर्णय गरेको हो।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले निर्वाचन समयमा सम्पन्न गराउने विषयमा सरकारलाई पुनः ध्यानाकर्षण गराउने निर्णय गरिएको जानकारी दिए। साथै, पार्टीले सो प्रक्रियामा आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
प्रवक्ता सापकोटाका अनुसार बैठकले जीएनजीलगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधरहरूसँग संवाद गरी समझदारी कायम गर्ने, समाजवादी मोर्चा तथा अन्य समान राजनीतिक कार्यदिशा भएका शक्तिहरूसँग एकता गर्ने, र देशभक्त, परिवर्तनकारी पार्टी तथा सामाजिक संघसंस्थाहरूलाई समेटेर संयुक्त मोर्चा निर्माण गर्ने निर्णयसमेत गरेको छ।
बैठकले पार्टीको केन्द्रीय कमिटी बैठकका लागि एजेण्डा तय गर्नुका साथै विशेष महाधिवेशनमा जाने निर्णय पनि गरेको छ। प्रवक्ता सापकोटाका अनुसार आगामी बैठकमा महाधिवेशनको मिति तय गरिनेछ।
प्रतिक्रिया