काठमाडौं — देशका विभिन्न भागमा आएको पहिरोका कारण चारवटा प्रमुख सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएका छन्। अवरुद्ध सडकखण्डहरूमा नारायणगढ–मुग्लिन सडक, अरनिको राजमार्ग, कोशी राजमार्ग र रसुवागढी नाका जाने मार्ग रहेका छन्।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा मंगलबार बिहान सडकमाथिबाट पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सवारी आवागमन ठप्प हुँदा यात्रुहरू बीचमै अलपत्र परेका छन्।
त्यसैगरी, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो खसेपछि सो क्षेत्रको यातायात सम्पर्क पूर्णरूपमा विच्छेद भएको प्रहरीको भनाइ छ। यो मार्ग चीनसँगको प्रमुख व्यापारिक नाका हो।
उता, असार २४ गतेको बाढीले रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा रहेको पुल बगाएपछि नेपाल–चीनबीचको अर्को नाका समेत पूर्णरूपमा बन्द भएको छ। पुल नबन्दासम्म वैकल्पिक आवागमन सम्भव नभएको जनाइएको छ।
कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवा क्षेत्रमा पहिरो खस्दा सडक पूर्णरूपमा बन्द भएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पहिरो हटाउने प्रयास भइरहेको छ।
संबन्धित निकायहरूले पहिरो हटाउन डोजर र जनशक्ति परिचालन गरिरहेको भए पनि निरन्तर वर्षाले उद्धार तथा मर्मत कार्यमा बाधा पुगेको छ। यातायात अवरुद्ध हुँदा दैनिक जीवन, आपूर्ति प्रणाली र व्यापारमा प्रतिकूल असर परेको छ।
प्रतिक्रिया