काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी, पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, आज अस्पतालबाट डिस्चार्ज हुँदै छन्। गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणमा परेपछि उनीहरू उपचाररत थिए।
देउवा दम्पत्तिको स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि चिकित्सकको सल्लाहअनुसार डिस्चार्ज गर्ने निर्णय गरिएको हो। देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार उनीहरू ललितपुरस्थित सानेपा वा जावलाखेलमा अस्थायी रूपमा बसोबास गर्नेछन्।
प्रदर्शनका क्रममा देउवा निवास बुढानीलकण्ठ जलेर पूर्ण रूपमा ध्वस्त भएको थियो। सो निवास पुनर्निर्माणका लागि समय लाग्ने भएकाले अस्थायी बसोबासको व्यवस्था मिलाइएको हो। आरजु राणाको माइती घर सानेपाको झम्सिखेलमा तथा उनका भाइ भूषण राणाको घर जावलाखेलमा रहेको छ।
सुरक्षाका कारण नेताहरू र कार्यकर्ताहरूले झम्सिखेललाई उपयुक्त स्थानका रूपमा सुझाव दिएका छन्।
प्रतिक्रिया