सुर्खेत । सल्यानमा पालिकामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । कुमाख गाउँपालिकाबाट आइतबार सुरु भएको परिचयपत्र वितरण एक सातासम्म चल्नेछ।
जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर अर्जुन रावतका अनुसार कार्यक्रमअन्तर्गत पालिकाभित्र रहेका अपाङ्ग, अशक्त तथा जेष्ठ नागरिकहरूका लागि पनि परिचयपत्र बनाइनेछ।
जिल्ला प्रशासन कार्यालयमै गई तयार गरिएका राष्ट्रिय परिचयपत्रहरू अब सम्बन्धित व्यक्तिहरूको उपस्थितिमा कुमाख गाउँपालिकाको कार्यालयबाट वितरण गरिनेछ।
आइतबार एक कार्यक्रमकाबीच परिचय पत्र वितरण सुरु गरिएको हो । नागरिकहरुलाई सहज रुपमा परिचय पत्र उपलब्ध गराउन पालिकामै पुगेको गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीले बताए ।
‘राज्यका सेवा सुविधा नागरिकलाई सहजरुपमा घरदैलोमा पाउने वातावरण बनाउन स्थानीय सरकारले पहल गर्नु पर्छ’ उनले भने,‘गाउँगाउँमा सरकार भएर मात्र भएन सेवा प्रवाह पनि गाउँमै उपलब्ध हुनु पर्छ भन्नेमा पालिका गम्भीर छ ।’
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावल, प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, गाउँपालिका उपाध्यक्ष लाल बहादुर रावत, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतलगायतका वक्ताहरुले नागरिकलाई सहज सेवा उपलब्ध गराउन स्थानीय सरकारले पुर्याएको योगदानको प्रशंसा गरेका छन् ।प्रमुख जिल्ला अधिकारी सुवेदी र जिल्ला समन्वय समिति प्रमुख रावलले पूर्ण बहादुर राना र भीम बहादुर रानालाई राष्ट्रिय परिचयपत्र वितरण गरेका थिए । परिचय पत्र गाउँमै पाउँदा आफुलाई खुशी लागेको रानाले बताए ।
असोज १२ गतेसम्म कुमाख गाउँपालिका भित्रका सबै जेष्ठ नागरिक तथा अपाङ्ग–अशक्त व्यक्तिहरूको परिचयपत्र तयार गरिने जिल्ला प्रशासन कार्यालय सल्यानका एमआईएस अपरेटर मेघराज रावतले बताए ।
प्रतिक्रिया