काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठनका बेला कुलमान घिसिङलाई मन्त्री बनाउन उच्च दबाब परेको खुलाएकी छिन्।
आइतबार उद्योगी व्यवसायीसँगको भेटमा उनले घिसिङलाई मन्त्रिपरिषद्मा समावेश नगरेको भए सरकार गठन नै हुन नसक्ने अवस्था रहेको बताइन्। शपथ ग्रहण गरेको चार दिनपछि मात्र तीन जना मन्त्री नियुक्त गर्न सक्नुको कारण खुलाउँदै उनले भनिन्, “कुलमान जीलाई नराखेको भए मन्त्रिमण्डल नै नबन्ने अवस्था थियो।”
प्रधानमन्त्री कार्कीले जेन-जी आन्दोलनले सिर्जना गरेको परिस्थितिबारे सरकार जानकार रहेको र सबैसँग सहकार्य गर्न तयार रहेको पनि स्पष्ट पारिन्। उनले आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सो क्षतिलाई पुनःउठाउन सरकार सहयोग गर्न तयार रहेको बताइन्।
निजी क्षेत्रलाई उद्यम विस्तार र पर्यटन प्रवर्द्धनमा अगाडि आउन आग्रह गर्दै कार्कीले सुरक्षाकर्मीको मनोबल बढाउन पनि निजी क्षेत्रले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याइन्। साथै, देशभर महिला उद्यमी महासंघको जस्तो अभियान सञ्चालन गरी उद्यमशीलता विकास गर्नुपर्नेमा जोड दिइन्।
प्रतिक्रिया