काठमाडौं । देशमा मनसुनी वायुको प्रभाव कमजोर बनेको छ र स्थानीय वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार (असोज ५) कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा साधारणतया बदली र केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो।
महाशाखाका अनुसार बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ। राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ।
महाशाखाले जारी गरेको पूर्वानुमान अनुसार १० देखि ५० मिलिमिटरसम्मको वर्षा मध्यम वर्षा मानिन्छ। ५० देखि १०० मिलिमिटरसम्म भारी वर्षा, १०० देखि २०० मिलिमिटरलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी मानिन्छ।
महाशाखाले विभिन्न स्थानको परिभाषा पनि सार्वजनिक गरेको छ। १० प्रतिशतभन्दा कम क्षेत्रलाई ‘एक–दुई’ स्थान, १०–३० प्रतिशतलाई ‘थोरै’ स्थान, ३०–५० प्रतिशतलाई ‘केही’ स्थान, ५०–८० प्रतिशतलाई ‘धेरै’ स्थान र ८० प्रतिशतभन्दा बढी क्षेत्रलाई ‘अधिकांश’ स्थान मानिने उल्लेख छ।
प्रतिक्रिया