काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठनका लागि दुई विकल्प प्रस्ताव गरेका छन्। शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकमा उनले पाँचबुँदे ब्रिफिङ गर्दै नियमित महाधिवेशन वा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने आवश्यकता औंल्याए।
थापाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुशासन, भ्रष्टाचार नियन्त्रण, आन्दोलनमा भएको क्षतिको छानबिन र संविधानको रक्षा लगायतका दायित्व कांग्रेसअगाडि रहेको उल्लेख गरे। उनका अनुसार पार्टीले विगतका कमजोरी स्वीकार गर्दै आमूल परिवर्तन र पुनर्गठन गर्नुपर्छ।
पुनर्गठनका लागि उनले पहिलो विकल्पस्वरूप २०८२ मंसिरभित्र नियमित महाधिवेशन गर्ने प्रस्ताव राखे। उनले हालको क्रियाशील सदस्यता कायम राखी एक महिनाभित्र नयाँ सदस्यता लिन सकिने र त्यसकै आधारमा अधिवेशन सम्पन्न गर्न सकिने बताए।
नियमित महाधिवेशनमा सहमति नभए दोस्रो विकल्पस्वरूप विशेष महाधिवेशन गर्नुपर्ने उनले स्पष्ट पारे। पार्टीको विधानअनुसार कार्यसमितिले आवश्यक ठानेमा वा ४० प्रतिशत सदस्यको प्रस्तावमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था रहेको उनले स्मरण गराए।
थापाले यी दुईबाहेक पुनर्गठनका अन्य विकल्प नभएको दाबी गर्दै नयाँ नेतृत्वले मात्र वर्तमान चुनौतीपूर्ण परिस्थितिमा पार्टीलाई जिम्मेवारी बहन गर्न सक्षम हुने बताए।
प्रतिक्रिया