Logo

मुख्य समाचार

जीर्ण विकास आयोजनाको ठेक्का तोडिने


३ आश्विन २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । लामो समयदेखि अलपत्र पारिएका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयअन्तर्गतका जीर्ण विकास आयोजनाको ठेक्का तोडिने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ तथा भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई जीर्ण आयोजनाको सूची तत्काल तयार पारेर पेस गर्न निर्देशन दिएका छन्।

मन्त्री घिसिङका अनुसार तोकिएको समय र गुणस्तरमा निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई अनुहार हेरेर माया नदेखाई कानुनी प्रक्रियाअनुसार ठेक्का तोडिनेछ। उनले जीर्ण बनेका आयोजनालाई तत्काल मूल्यांकन गरी नयाँ ठेक्का प्रक्रियामा लैजाने तयारी भइरहेको जानकारी दिए।

सिंचाइअन्तर्गत राष्ट्रिय गौरवको सुनकोशी मरिण बहुउद्देश्यीय आयोजना, भौतिक पूर्वाधारअन्तर्गत तीन दर्जनभन्दा बढी सडक र सयभन्दा बढी पुल निर्माण आयोजना अलपत्र रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ११ : १६ बजे