काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी आन्दोलनमा घुसपैठ भई हिंसा मच्चाइएको दाबी गरेका छन् । संविधान दिवसको अवसरमा बिहीबार जारी सन्देशमा उनले सरकारको आदेशमा नभई प्रहरीले नपाएको स्वचालित हतियारबाट गोली प्रहार भएको भन्दै घटनाको छानबिन गर्न माग गरे ।
उनले भने, “सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्छ ।” उनले उक्त घटनामा मारिएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरे ।
ओलीले संविधान जारी भएको दिनलाई स्मरण गर्दै नेपालको सार्वभौमसत्ता र संविधानमाथि अहिले ठूलो आक्रमण भइरहेको आरोप लगाए । उनले सिंहदरबार र अन्य सरकारी–गैरसरकारी संरचना तोडफोड तथा आगजनी हुनु षड्यन्त्रको परिणाम भएको बताए ।
उनले भने, “प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ, नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ ।” उनले नेपालमा विकासका पूर्वाधार निर्माण भइरहेको अवस्थामा असन्तोषको वातावरण सिर्जना गरिएको उल्लेख गर्दै संविधान र सार्वभौमसत्ताको रक्षा गर्न सबैलाई एकजुट हुन अपिल गरे ।
ओलीले संविधान र सार्वभौमसत्तालाई देशको अस्तित्व र स्वतन्त्रताको कवच भएको भन्दै नयाँ पुस्ताले यथार्थ बुझेर देश निर्माणमा लाग्नुपर्ने बताए ।
प्रतिक्रिया