काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादवसहित ६ जना नेताहरूले पार्टी अध्यक्ष सीके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका छन् ।
उनीहरूले मंगलबार अध्यक्ष राउतलाई सम्बोधन गरी बुझाएको पत्रमा नेतृत्व परिवर्तन अपरिहार्य भएको उल्लेख गर्दै पार्टीको समग्र हित, राजनीतिक विश्वसनीयता र जनआस्थाको पुनर्स्थापनाका लागि राउतलाई स्वेच्छिक रूपमा पदबाट हट्न आग्रह गरिएको छ ।
पत्रमा भ्रष्टाचार, परिवारवाद, नातावाद, कृपावाद र सुशासनविरुद्ध भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा ऐतिहासिक मोड ल्याएको उल्लेख गर्दै पार्टी शीर्ष नेतृत्वको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव र जनभावनासँग विपरीत गतिविधिका कारण संगठन अघि बढ्न नसकेको आरोप लगाइएको छ ।
पत्रमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक सञ्जयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बलका हस्ताक्षर छन् ।
प्रतिक्रिया