Logo

समाचार

सरकारले संविधान दिवस सामान्य रूपमा मनाउने



काठमाडौं – सरकारले आगामी असोज ३ गते संविधान दिवस सामान्य रूपमा मनाउने भएको छ। गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यका अनुसार यस वर्ष विशेष समारोह बिना नै संविधान दिवस मनाइने तयारी गरिएको हो।

२०७२ साल असोज ३ गते संविधान जारी भएको स्मरणमा प्रत्येक वर्ष संविधान दिवस मनाइँदै आएको छ। अघिल्ला वर्षहरूमा सरकारले मूल समारोह समिति गठन गरी सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गर्ने गरेको थियो। त्यसमा संवैधानिक निकायका पदाधिकारी, राजनीतिक दलका नेता, कर्मचारी, सुरक्षा निकाय, विद्यार्थी, सामाजिक संघसंस्था र नागरिक समाजका प्रतिनिधिहरू सहभागी हुने गर्थे।

यस वर्ष भने न त मूल समारोह समिति गठन गरिएको छ, न त विशेष कार्यक्रमबारे जानकारी दिइएको छ। आचार्यका अनुसार संविधान दिवस यसपटक सामान्य तरिकाले मनाइनेछ। नेपाली सेनाले पनि सामान्य रूपमा कार्यक्रम गर्ने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  १ : ०० बजे