Logo

समाचार

सुपथ पसल पुगेका उपभोक्ता भन्छन् : भाटभटेनी र अन्य पसलभन्दा सस्तो लाग्यो



काठमाडौं । जेनजी आन्दोलनका कारण देशमा विषम परिस्थिति निम्तिएपनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सहुलियत मूल्यको पसलहरु संचालनमा ल्याएको छ ।

कम्पनीले दाल चामल तथा अन्य खाद्यन्नका सामग्रीहरु धमाधम विक्री गरिरहेको छ । वातावरण अनुकुल नभएकाले उपभोक्ताहरुको उपस्थिति नभएपनि कम्पनीले सेवा विस्तार गरेको हो । दशैंकै मुखमा मुलुकमा अस्थिरता निम्तिएकाले उपभोक्ताले चासो नदेखाएकोमा कम्पनीका कर्मचारीहरुले दुखेसो व्यक्त गरेका छन् ।

नेपालको स्थिति सोचे जस्तो नभएको र विगतमा जस्तो उपभोक्तहरुको भीडभाड नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी वागमती प्रदेशकी प्रमुख धर्मकुमारी राजवंशीले बताइन् ।

उनले आन्दोलनका कारण उपभोक्तहरुको मनमा डर बसेकाले व्यापार कम्पनीलाई प्रभाव परेको बताइन् ।

‘हरेक बर्ष चाडपर्वलाई लक्षित गर्दै सहुलियत सुपथ मूल्यमा सामानहरु विक्री वितरण गर्ने गरेका छौं, यसपाली पनि पूर्वतयारीका साथ विक्री सुरु गरेका हौं । तर मुलुकको अवस्था सोचेजस्तो भएन । त्यसैले भव्यताकासाथ उद्घाटन गर्न सकिएन । आन्दोलनका कारण उपभोक्ताहरु त्रासमा छन् । जसको प्रभाव परिरहेको छ’ उनले भनिन्  ।

उनले अन्य स्थानमा पनि सूपथ मूल्य संचालनमा ल्याउने तयारी गरिरहेको जानकारी दिइन् । उपत्यकामा रामशाहपथ, नख्खु,  थापाथली र दक्षिणकालीमा पसल संचालनमा आएको जानकारी दिइन् ।

‘हाम्रो कार्यालय मार्फत चारवटा शाखाहरु रामशाहपथ, नख्खु,  थापाथली र दक्षिणकालीबाट पनि सन्चालन भइरहेको छ । गोदावरी र चाँगुनारायण साथै रसुवाबाट पनि सन्चालन गर्ने लक्ष्यमा छौं । सबै पूर्वाधार अनुरुप सन्चालन गर्नपर्ने भएकाले पहिलो हप्ता भित्र नै रसुवादेखि गोदावरीसम्म सन्चालन गर्नेछौं,’ उनले भनिन् ।

हालको अवस्था सहज नभएको र यातायातको सुविधा नभएकाले पनि विक्रीमा असर परेको सुनाइन् ।

उनले चामल, दाल गेडागुडी, मसलाजन्य सामान रैथाने बालीहरुमा प्रति केजी १० रुपैयाँसम्म छुटमा साथै चिउरा एवम आँटालगायतका पिठो भने प्रतिकेजी सात रुपैंयाँसम्मको छुटमा विक्री गरिरहेको बताइन् । उनले यस बर्ष विसम परिस्थितिका कारणले दशैँमा खसी–बोका वितरण गर्न नसकिने बताइन् ।

सुपथ मूल्यमा सामान खरिदका लागि आएका उपभोक्ता प्रेम कृष्ण श्रेष्ठले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दिएको सेवा सुविधा सहज भएको साथै सस्तो रहेको बताए ।

‘सँधै सुपथ पसलहरुबाटै सामान लाने गरेको छु । सस्तो महंगो भनेको त्यस्तै हो तर सबै सामग्र एकै ठाउँमा पाइन्छ । आजसम्म भाटभटेनी या अन्त गएर सामान खरिद गरेको छुइन् । हरेक बर्ष यसरी पसल संचालन गरे राम्रो हुनेथियो,’ उनले भने ।

त्यस्तै अर्का उपभोक्ता ठाकुर राम पहरीले दशैंको बेला मात्र नभई अरुबेला पनि आउने गरेको र सरकारले चाडपर्वलाई विषेश जोड दिएर सहुलीयत मूल्यमा विक्री वितरण गर्दा खुशी लागेको पनि बताए ।

त्यस्तै अर्का उपभोक्ता भवानी सापकोटाले सँधै भाटभटेनीमा किन्ने गरेकोमा महंगो भएको भन्दै यहाँ सस्तोमा पाउने  थाहा पाएर आएको समेत बताइन् ।

‘पहिला पहिला भाटभटेनीमा लिने गरेका थियौँ । तर यहाँ सस्तोमा पाइने थाहा पाएर आएको हुँ । कम्पनीले सँधै यसरी सुविधा दिए राम्रो हुनेथियो ।’

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ५ : १४ बजे