काठमाडौं । एसीसी एसिया कप क्रिकेटमा श्रीलंकाले लगातार दोस्रो जित दर्ता गरेको छ । सोमबार युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकाले हङकङलाई चार विकेटले पराजित गरेको हो ।
हङकङले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा चार विकेट गुमाउँदै १४९ रनको योगफल बनाएको थियो । निजाकत खानले ५२, अन्सु रथले ४८ र जिसान अलीले २३ रनको योगदान दिए । श्रीलंकाका दुस्मन्था चमिराले दुई तथा वनिन्दु हसरंगा र दुसान सनाकारले समान एक–एक विकेट लिए ।
१५० रनको लक्ष्य श्रीलंकाले १८.५ ओभरमा छ विकेट गुमाउँदै पूरा गर्यो । पथुम निसांकाले सर्वाधिक ६८ रन बनाएका थिए । कुशल परेरा र वनिन्दु हसरंगाले समान २०, कामिल मिसाराले १९ र कुशल मेन्डिसले ११ रन बनाए । हङकङका यासिम मुर्तजाले दुई विकेट लिँदा आयुश शुक्ला, एसाना खान र आइजाज खानले समान एक–एक विकेट झारे ।
लगातार दोस्रो जितसँगै श्रीलंकाले समूह ‘बी’मा चार अंक जोडेर सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । तीन खेल खेलेको हङकङ भने अझै अंकविहीन रहँदै पुछारमा छ ।
प्रतिक्रिया