Logo

समाचार

डा. गोविन्द केसीद्वारा ‘जेनजी’ आन्दोलनमाथिको दमनबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग


२७ भाद्र २०८२, शुक्रबार  

0
Shares

काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले भदौ २३ गते ‘जेनजी’ आन्दोलनमाथि सरकारले गरेको दमनबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। शुक्रबार जारी विज्ञप्तिमा उनले आन्दोलनका क्रममा भएका मृत्यु र हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै राजनीतिक नेतृत्वको गैरलोकतान्त्रिक र गैरजिम्मेवारपूर्ण व्यवहारको आलोचना गरेका छन्।

डा. केसीका अनुसार विरोध प्रदर्शनमा गोली चलाउँदा करिब दुई दर्जनभन्दा बढीको ज्यान गएको छ। उनले यो घटना सरकार, सत्तापक्ष र विपक्षी दल दुवैको गैरजिम्मेवारपनको उदाहरण भएको बताए।

उक्त घटनापछि देशभरि देखिएका आगजनी, तोडफोड र लुटपाटजस्ता विध्वंसात्मक घटनाले सबैको शिर निहुरिएको उल्लेख गर्दै उनले निष्पक्ष छानबिनमार्फत संलग्न व्यक्तिहरूलाई कारबाही गर्न माग गरे।

डा. केसीले आन्दोलनमा सहभागी नवयुवाको जायज मागलाई निहित स्वार्थले बदनाम गर्न खोजिएको भन्दै आन्दोलनको मर्मअनुरूप काम गर्न नवयुवापुस्ताका प्रतिनिधिसहितको अन्तरिम सरकार आवश्यक रहेको बताएका छन्।

उनले भावी अन्तरिम सरकारले लोकतान्त्रिक गणतन्त्रको सिद्धान्तलाई सर्वोपरि राखी तोकिएको समयभित्र जिम्मेवारी पूरा गर्ने अपेक्षा व्यक्त गरेका छन्। साथै अन्तरिम सरकारमा सेनाको प्रतिनिधित्व वा हस्तक्षेप नहुने र दायित्व पूरा भएपछि सेना ब्यारेक फर्किने विश्वास पनि व्यक्त गरेका छन्।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ४ : ४७ बजे