Logo

मुख्य समाचार

ललितपुर भैँसेपाटीमा जलेको प्रहरी प्रभाग स्थानीयले पुनःस्थापना


२७ भाद्र २०८२, शुक्रबार  

0
Shares

ललितपुर ।‘जेनजी’ आन्दोलनका क्रममा जलेको ललितपुर महानगरपालिका–२५ भैँसेपाटीस्थित प्रहरी प्रभाग स्थानीयको पहलमा पुनःस्थापना गरिएको छ।

भदौ २३ र २४ गतेको आन्दोलनमा प्रदर्शनकारीले प्रहरी प्रभाग बुङ्गमती–भैँसेपाटीमा आगजनी गरी कार्यालयका सबै सामग्री, दुईवटा चारपाङ्ग्रे सवारीसाधन, मोटरसाइकल र अन्य सामान नष्ट गरेका थिए।

प्रहरी प्रभागका इन्चार्ज शशिधर शर्मा नेतृत्वको टोली बिहीबार अत्यावश्यक सामग्रीसहित प्रभागमा फर्किएको हो। टोलीलाई वडा नं २५ का अध्यक्ष दौलतकुमार खत्री, वडा नं २२ का सागर तुलाधर, वडा नं २१ का रवीन्द्र महर्जनसहित स्थानीयले स्वागत गरेका थिए।

स्थानीय सुमन महतको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरी श्रमदान, चन्दा र संघसंस्थाबाट सहयोग जुटाउने कार्य थालिएको छ। हालसम्म चार लाख रुपैयाँभन्दा बढी संकलन भएको र भवन मर्मत, झ्यालढोका, रङरोगन, बत्ती तथा पानीको व्यवस्था जस्ता काम सुरु भइसकेको प्रभाग प्रमुख शर्माले जानकारी दिए।

स्थानीय स्तरबाट गस्तीका लागि अस्थायी गाडीको व्यवस्था गर्ने तयारी भइरहेको छ। वडा नं २५, २२, २१ र १८ का अध्यक्षहरूले २५–२५ हजार रुपैयाँ सहयोग गरेका छन्।

प्रभागको नेतृत्वमा ४३ प्रहरी, आठ ट्राफिक प्रहरी र फर्सिडोल चौकीका आठ प्रहरी रहनेछन्। नक्खु कारागारबाट कैदी–बन्दी फरार भएपछि सुरक्षा चुनौती बढेकाले प्रहरी प्रभागलाई चाँडो सञ्चालनमा ल्याउनुपर्ने समितिका सदस्य देवेन्द्रकुमार गौतमले बताए।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १२ : ५६ बजे