Logo

समाचार

पूर्वराष्ट्रपति भण्डारीको चेतावनी: “जेन–जीको उत्साहलाई लोकतन्त्रमाथि घात नपुर्‍याउने गरी निर्णय होस्”



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका कारण उब्जिएको राजनीतिक परिस्थितिमा लोकतान्त्रिक मूल्य र संवैधानिक प्रक्रिया भंग नहोस् भन्नेमा जोड दिएकी छन्। बिहीबार सार्वजनिक वक्तव्य जारी गर्दै उनले जेन–जीको सपना रहेको नेपाल अझ बढी लोकतान्त्रिक र अग्रगामी हुने विश्वास व्यक्त गरेकी हुन्।

भण्डारीले वर्तमान राजनीतिक समस्याको समाधान संविधानभित्रै खोज्नुपर्नेमा जोड दिँदै आन्दोलनकारी पुस्ताको मागलाई गम्भीरतापूर्वक लिनुपर्ने सुझाव दिइन्। “जेन–जीको उत्साहलाई लोकतान्त्रिक व्यवस्थामाथि घात पर्ने गरी कुनै निर्णय गरिनु हुँदैन र नागरिक सर्वोच्चतामा चोट पुर्‍याउनु हुँदैन,” भण्डारीले वक्तव्यमा उल्लेख गरेकी छन्।

उनले प्रधानमन्त्रीको राजीनामापछि बनेको कार्यवाहक सरकारका सन्दर्भमा संविधानबमोजिम नयाँ मन्त्रिपरिषद् गठन गर्न राष्ट्रपतिले पहल लिनुपर्ने बताएकी छन्। “राष्ट्रपति, प्रतिनिधिसभाका सभामुखको समन्वयमा वैधानिक प्रक्रियामार्फत नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउनुपर्छ,” भण्डारीको भनाइ छ।

पूर्वराष्ट्रपतिले सामाजिक सञ्जाल बन्द जस्ता कदमले नेपाली समाजमा असहजता सिर्जना गरेको उल्लेख गर्दै संयमता र शान्तिपूर्ण संवादको वातावरण आवश्यक रहेको बताइन्। साथै, शान्ति सुरक्षाको लागि खटिरहेका नेपाली सेना र सुरक्षाकर्मीहरूको प्रशंसा समेत गरेकी छन्।

उनले राजनीतिक दलहरूलाई अप्ठ्यारो अवस्थामा पलायन होइन, समाधानको दिशामा अघि बढ्न आग्रह गरेकी छन्। “पार्टीहरूले आन्तरिक एकता बलियो बनाउँदै सहयात्री दलहरूसँग समन्वय गरेर राष्ट्रलाई सही दिशा दिन दृढ अठोट गर्नुपर्छ,” भण्डारीले भनेकी छन्।

वर्तमान राजनीतिक संकट समाधानका लागि पूर्वराष्ट्रपति भण्डारीको यो वक्तव्यले संवैधानिक मार्गप्रति पुनः ध्यानाकर्षण गराएको छ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  ७ : ०९ बजे