काठमाडौं । नेपालले रुबेला रोगलाई सार्वजनिक स्वास्थ्य समस्याको रूपमा उन्मूलन गर्न सफल भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले घोषणा गरेको छ।
डब्लूएचओका अनुसार खोपमार्फत रोकथाम गर्न सकिने रोगहरूमध्ये रुबेला नियन्त्रणमा नेपालले हासिल गरेको उपलब्धि महत्वपूर्ण मानिन्छ। रुबेला वा जर्मन दादुरा अत्यधिक संक्रामक भाइरल रोग हो, जसले गर्भवती महिलामा गर्भपतन, मृत जन्म वा गम्भीर जन्म दोषको खतरा बढाउँछ। सुरक्षित खोपद्वारा यस रोगलाई पूर्ण रूपमा रोक्न सकिन्छ।
डब्लूएचओ दक्षिण–पूर्वी एसियाका प्रभारी डा. क्याथरिना बोहेमेले नेपालको सफलतामा स्वास्थ्यकर्मी, स्वयंसेवक र समुदायको निरन्तर प्रयास निर्णायक भएको बताइन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमार्फत सरकारको दृढ इच्छाशक्ति, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको अथक परिश्रम र नागरिक समाजको सक्रिय भूमिकाले यो उपलब्धि सम्भव भएको बताए। उनले रुबेलामुक्त स्थिति दिगो बनाउन खोप सेवाको पहुँच विस्तार, रोग–निगरानी प्रणाली सुदृढीकरण र निवारणपश्चात कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।
प्रतिक्रिया