काठमाडौं। डी.ए.भी. बिजनेस स्कुल र ह्युमन रिसोर्सेज सोसाइटी नेपालको संयुक्त आयोजनामा दोस्रो संस्करणको “डी.ए.भी. कर्पोरेट फुटसल प्रतियोगिता २०२५” सफलतापूर्वक सम्पन्न भएको छ। तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिता साउन १५ देखि १८ गतेसम्म काठमाडौंमा आयोजना गरिएको थियो।
बैंकिङ, बीमा, ट्रेडिङ, सूचना प्रविधि, अटोमोबाइल तथा उत्पादन क्षेत्रबाट प्रतिनिधित्व गर्ने ३२ कर्पोरेट टोलीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए। फाइनल खेलमा डिश होम प्रा.लि.ले कोड हिमालय प्रा.लि.लाई पराजित गर्दै उपाधि जितेको हो। विजेता टोलीले नगद रु. १ लाख, ट्रफी र मेडल प्राप्त गरे भने उपविजेता टोलीले रु. ५५ हजार, ट्रफी र मेडल प्राप्त गर्यो।
प्रतियोगिता उद्घाटन समारोहमा ह्युमन रिसोर्सेज सोसाइटी नेपालका अध्यक्ष टेकराज शर्माले उद्योग र शैक्षिक क्षेत्रबीच सहकार्यको महत्वबारे प्रकाश पारेका थिए। नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान भरत खवासले खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे जोड दिएका थिए। डी.ए.भी. बिजनेस स्कुलका अध्यक्ष अनिल केडियाले खेलकुदमार्फत व्यावसायिक एकता र दृढता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै प्रतियोगिता उद्घाटन गरेका थिए।
एमबीए कार्यक्रम संयोजक राजेश कुमार चौधरी नेतृत्वको आयोजक समितिले प्रतियोगिता समापन गरेको थियो। सहभागी ३२ टोली, प्रायोजक तथा रेफ्रीहरूलाई प्रशंसापत्र प्रदान गरिएको छ। आयोजकले मुख्य साझेदारहरू ह्युमन रिसोर्सेज सोसाइटी नेपाल, सुजल डेरी, सिप्रदी ट्रेडिङ र मुसकप्रति विशेष धन्यवाद ज्ञापन गरेको छ।
प्रतियोगिताले व्यावसायिक सञ्जाल विस्तार, समूहगत भावना र स्वास्थ्य प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको आयोजकले जनाएको छ। आगामी संस्करणमा अझ बढी सहभागिता हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया