Logo

राजनीति

जुनसुकै बेला जे पनि हुनसक्छ भन्ने मानसिकताका साथ काम गर्नुपर्छ : गृहमन्त्री


१६ श्रावण २०८२, शुक्रबार  

69
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल अत्यन्तै जोखिमपूर्ण भूगोलमा अवस्थित रहेको भन्दै जुनसुकै बेला जे पनि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै तयारी गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘विपद् संवाद कार्यक्रम’मा बोल्दै गृहमन्त्री लेखकले नेपालमा भूकम्प, बाढी, पहिरो, चट्याङ, आगलागी, हिमपात र लुजस्ता प्राकृतिक प्रकोपहरू बारम्बार दोहोरिने उल्लेख गरेका हुन् ।

उनले भने, ‘हामी जोखिमयुक्त भूगोलमा छौं । जुनसुकै बेला जे पनि हुन सक्छ भन्ने मानसिकता राखेर काम ग¥यौं भने ठिक ठाउँमा पुग्न सक्छौं ।’

गृहमन्त्रीले जलवायु परिवर्तनका असरले पनि मुलुक थप जोखिममा परेको बताए । उनले भने, ‘अब त देशभित्र भारी वर्षा नपरे पनि बाहिरी देशमा हिमताल फुट्यो भने पनि हामीकहाँ बाढी आउन थालिसक्यो । सूचना आदानप्रदानको प्रणाली प्रभावकारी नभएकै कारण बाढी आएपछि मात्र थाहा हुने स्थिति छ ।’

उनले हालैको उदाहरण दिँदै भने, ‘एउटै समय मधेसमा पानीको हाहाकार छ भने, उता रसुवामा बाढी आएको छ। यस्ता विपद् सामना गर्न पूर्वतयारी, सूचनाको तिब्रता र समन्वय अत्यावश्यक भइसकेको छ ।’

कार्यक्रममा उपस्थित विज्ञ र सरोकारवालाहरूले विपद् व्यवस्थापनमा प्रविधिको प्रयोग, शीघ्र सूचना प्रणालीको विकास र स्थानीय तहको भूमिकालाई सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ८ : २५ बजे