काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा विकसित जनताको बहुदलीय जनवाद (जबज) लाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउनुपर्नेमा जोड दिएकी छन् । शनिबार काठमाडौंमा आयोजित मदन भण्डारी फाउण्डेसनको जर्नल विमोचन तथा विमर्श कार्यक्रममा बोल्दै उनले जबजलाई अन्तर्राष्ट्रिय रूपमा पु¥याउने एउटा आधिकारिक माध्यमको प्रयासको रूपमा प्रस्तुत गरेकी हुन् ।
उनले भनिन्, ‘यसले कम्युनिष्ट आन्दोलनलाई समय र परिस्थितिअनुसार सही रूपमा बुझ्न र व्यावहारिक रूपमा अवलम्बन गर्दै विश्व कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउन योगदान गर्न सक्छ ।’
साथै भण्डारीले जबजले माक्र्सवाद र लेनिनवादको आधारमा नेपाली समाजको गहिरो विश्लेषण गर्दै ऐतिहासिक, सामाजिक, सांस्कृतिक र भूराजनीतिक विशेषतालाई आत्मसात गरेको बताइन् । ‘समाजवादको मार्गमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धालाई समेट्दै जबजले एक विशिष्ट र सिर्जनात्मक बाटो निर्माण गरेको छ,’ उनले भनिन् ।
उनले वर्गीय शोषण अन्त्य गर्दै स्वास्थ्य, शिक्षा, रोजगारी र समान अवसर सुनिश्चित गरेर सबै नागरिकलाई सुखी र समृद्ध बनाउनु जबजको मूल मर्म भएको उल्लेख गरिन् । ‘वर्गीय शोषणलाई अन्त्य गरेर सबै नागरिकलाई स्वास्थ्य, शिक्षा, रोजगारी र अवसरको सुनिश्चितता प्रदान गर्दै सुखी र समृद्ध बनाउनुपर्छ,’ उनले भनिन्, ’जबजको मूल भावना पनि यही हो ।’
प्रतिक्रिया