Logo

Breaking News 1

स्थानीय प्रशासनसँग समन्वय गर्दै स्वयंसेवकहरूको सक्रिय भूमिकामा खटिन तरुण दलसँग अपील



काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्राकृतिक विपत्तिबाट अझै ठूलो क्षति हुन नदिन स्थानीय प्रशासनसँग समन्वय गर्दै स्वयंसेवकहरूको सक्रिय भूमिकामार्फत उद्धार र राहत कार्यमा खटिन तरुणहरूसँग अपील गरेका छन् ।

रसुवा जिल्लाको नेपाल–चीन सिमानास्थित लेन्देखोलामा आएको भीषण बाढीका कारण मितेरी पुल पूर्णरुपमा बगेको तथा जनधनको ठूलो क्षति भएकोमा स्तब्ध भएको अध्यक्ष गुरुङले जनाएका छन् ।

गुरुङले मंगलबार विज्ञप्ति जारी गरेर भने, ‘नेपाल तरुण दल केन्द्रीय समितिले प्राकृतिक विपत्तिको यस कठिन समयमा रसुवा र नुवाकोट जिल्लाका जनसमुदायलाई खोला किनारबाट सुरक्षित स्थानमा बस्न आग्रह गर्दै यस विपत्तिको घडीमा नेपाल तरुण दल केन्द्रीय समिति निरन्तर जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछ ।’

सोमबार राति आएको वर्षात् र भीषण बाढीले रसुवामा ठूलो जनधनको क्षति भएको छ । रसुवा भन्सार कार्यालयको सेडघरमा रहेका मालवाहक कन्टेनरहरू तथा विभिन्न सवारी साधनहरू बाढीले बगाएको छ । नुवाकोट जिल्लाका केही स्थानमा बाढीले सर्वसाधारणहरूलाई कठिनाइ परेको तरुण दलले जनाएको छ ।

तरुण दलका अध्यक्ष गुरुङले बेपत्ता भएकाहरूको खोजी र उद्धार तथा राहतको कार्यमा खटिन स्थानीय तरुणहरूसँग आग्रह गरेका छन् । उनले विपत्तिको घडीमा सुरक्षाकर्मी र स्थानीयले बाढी र पहिरोमा परेकाहरूको उद्धारमा गरेको कार्यको प्रशंसा गर्दै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १० : १७ बजे