Logo

Breaking News 1

सरकारले आहा भन्ने काम गर्न नसकेको भए पनि गलत काम गरेको छैन : पृथ्वीसुब्बा गुरुङ



रामेछाप । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले धेरै राम्रो काम गर्न नसकेको भए पनि नराम्रो काम पनि नगरेको बताएका छन् ।

नेकपा एमाले रामेछापले मंगलबार मन्थलीमा आयोजना गरेको राजनीतिक तथा सांगठनिक क्षमता अभिवृद्धिका लागि जिल्ला स्तरीय कार्यशालामा बोल्दै गुरुङले सरकार राम्रो काम गर्ने प्रयत्नमा रहेको बताए । ‘सरकारले आहा भन्ने काम गर्न सकेको छैन, तर गलत काम पनि गरेको छैन’, उनले भने ।

नेकपा एमालेका उपमहासचिव समेत रहेका गुरुङले संयुक्त सरकार भएका कारण त्यसका केही सीमा भएका बताए । संयुक्त सरकारमा एकलौटी सरकार जस्तो गरी आफ्ना नीति र कार्यक्रम लागु गर्न नसकिने बाध्यता बुझिदिन उनले आग्रह गरे ।

गुरुङले केपी ओली नेतृत्वको वर्तमान सरकारले धेरै केही गर्न नसके पनि देश र व्यवस्थालाई बचाउने तथा देशको स्वाभिमानलाई झुक्न नदिने दाबी गरे ।

गुरुङले पार्टी नेतृत्वको बहसको विषयमा अहिले छलफल गर्ने बेला नै नभएको बताए । यस विषयमा उचित समयमा निर्णय हुने बताउँदै उनले अहिले पार्टी माथि बाह्य आक्रमण भइरहेको बेला नेतृत्वको बहसमा अलमलिन नहुने स्पष्ट पारे ।

अहिले पार्टी भित्र दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकता बढ्दै गएको बताउँदै गुरुङले यस्ता बेमौसमका बहसले त्यस्तै शक्तिलाई प्रोत्साहित गर्ने बताए । नेता बन्न रहर मात्रै गरेर नहुने बताउँदै उनले त्यो समय र परिस्थितिले बनाउने कुरा भएको स्पष्ट पारे ।

पार्टीको नेता कार्यकर्ताले पत्याएको र जनप्रतिनिधि जनताबाट अनुमोदित हुनुपर्ने स्पष्ट पारे । कसैले टिको लगाइदिर नेतृत्वमा नपुगिन उनको धारणा छ ।

‘पार्टीले टिको लगाइदिने व्यवस्था होइन हाम्रो, यो कुराको अभ्यास हामीले ठिक ढङ्गले गरेका छैनौँ भन्ने आत्मालोचना हो मेरा, दायाँबायाँ, नातावाद, कृपावादले समाजवादको लक्षमा पुग्न सकिँदैन’, उनले भने ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ९ : ०४ बजे