कञ्चनपुर । बाढीको उच्च जोखिममा रहेका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० का बस्तीहरूमा साङ्केतिक रातो झण्डा गाडिएको छ । टिनले छाएका कच्ची घरहरूमा राखिएका झण्डामा बालबालिका, अपाङ्गता, अशक्त, सुत्केरी तथा ज्येष्ठ नागरिकको संकेत गरी विपद् व्यवस्थापनको पूर्वतयारी गरिएको हो ।
जोगबुढा र महाकाली नदीले घेरिएको कुतियाकवरलगायत बस्तीहरूमा बर्सेनि हुने कटान र बाढीको जोखिमलाई मध्यनजर गर्दै स्थानीयस्तरमा जोखिम नक्साङ्कनसहितको तयारी गरिएको हो । कुतियाकवर, शान्ति टोल, सुर्खेती टोल, अठार नम्बर पिलर बस्ती, सुन्दरनगर, कञ्जभोज, बडुवाल टोल, ढकनाघाट, प्रगति टोल र पटराखल्ला लगायतका बस्तीमा जोखिम वर्गीकरणसहित ४५ घरमा रातो झण्डा राखिएको दोधारा चाँदनी–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
स्थानीयहरूका अनुसार, रातो झण्डामा घरमा बालबालिका भए तिनको चित्र, अपाङ्ग भए अपाङ्गता जनाउने संकेत र विशेष संवेदनशील समूह नभएको घरमा सादा झण्डा राखिएको छ । उद्धारको बेला कुन घरमा प्राथमिकता दिने भन्नेमा सहजता मिलोस् भन्ने उद्देश्यसहित संकेत प्रणाली अपनाइएको हो ।
कुतियाकवर बस्तीमा हाल ३९ परिवारको बसोबास रहेको छ । ४९ परिवारमध्ये केही भारततर्फ र केही अन्यत्र विस्थापित भइसकेका छन् । विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल निर्माण भएसँगै नगरपालिकासँग सिधा सम्पर्कमा आएको यस क्षेत्रलाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । तीन वडा बाढी तथा नदी कटानबाट प्रभावित बन्दै आएका छन् ।
करीब ५० बिघा क्षेत्रफल रहेको कुतियाकवर बस्ती हरेक वर्ष जमिन कटानका कारण साघुँरो बन्दै गएको स्थानीयहरूले बताएका छन् ।
प्रतिक्रिया