जनकपुर । मधेश प्रदेश सरकारले थारु समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनका लागि सप्तरीमा ‘रामानन्द सिंह थारु संस्कृति विकास तथा संरक्षण अध्ययन केन्द्र तथा थारु संग्रहालय’ स्थापना गर्ने भएको छ । थारु समुदायका अगुवा रामानन्द सिंह थारुको नाममा केन्द्र स्थापना गर्ने योजना ल्याइएको हो ।
मधेश प्रदेश सरकार अन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले उक्त संग्रहालय स्थापनाका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । थारु समुदायको सांस्कृतिक पहिचान जगेर्ना गर्ने ऐतिहासिक प्रयासको रूपमा यस केन्द्रको स्थापना हुने मन्त्रालयले जनाएको छ ।
हालसम्म कुनै पनि राजनीतिक दलले थारु समुदायको भाषा र संस्कृतिको विकास एवं संरक्षणतर्फ स्पष्ट कदम चालेको इतिहास नरहेको अवस्थामा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको पहलमा यो योजना अगाडि बढेको जनाइएको छ ।
जनमत पार्टीले थारु समुदायसँगको ऐतिहासिक सम्बन्धलाई मूल्यांकन गर्दै सांस्कृतिक उत्थानका विषयलाई नीति तथा कार्यक्रममा समेट्दै आएको छ । यही निरन्तरताको रुपमा यस केन्द्रको स्थापना हुने भएको जनमत पार्टीले जनाएको छ।
‘रामानन्द सिंह थारु भाषा–संस्कृतिको विकास तथा संरक्षण अध्ययन केन्द्र’ स्थापनाको काम यहि वर्षदेखि अगाडि बताइएको छ ।
प्रतिक्रिया