Logo

Breaking News 1

संविधान संशोधन नहुने नदेखिएपछि पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुग्यो : पूर्ण बस्नेत



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारबाट संविधान संशोधन हुने संकेत, आधार र अवस्था नदेखिएपछि पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको बताएका छन् ।

कांग्रेस एमाले गठबन्धनको संविधान संशोधन गर्ने प्रतिबद्धता कागजमै सीमित रहेको र पार्टीले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएको गठबन्धनलाई निसर्त समर्थन गरेकोमा उक्त समर्थन कायम राख्नुको औचित्य सकिएको तर्क गरे ।

बस्नेतले भने, ‘२०८१ असार १७ गते नेपालका ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमाले (जसले संविधान संशोधनको माग राख्ने तत्कालीन ससफो नेपालको आन्दोलनमाथि बर्बर दमन गरेका थिए) ले नै संविधान संशोधन गर्ने सहमतिसहित गरेको गठबन्धनप्रति जसपा नेपाल सकारात्मक थियो । त्यसैकारण पार्टीले यसपटक थुप्रै विमतीका बाबजुद कांग्रेस–एमाले गठबन्धनलाई निसर्त समर्थन गरेको थियो । प्रमुख दलहरुले नै संविधान संशोधनको आवश्यक्ता र औचित्य देखेको कारण यसपटक संविधान संशोधन हुन सक्ने अनुमान थियो । तर सधैँ झैं उनीहरुको प्रतिबद्धता कागजमै सीमित रहने देखियो ।’

उनले थपे, ‘जसपा नेपालले संविधान संशोधन गर्ने औपचारिक र अनौपचारिक सहमतिमा सरकारमा सहभागी भएर त कहिले बाहिरबाटै सरकारलाई समर्थन गर्ने गरेको छ । पार्टी सदन, सरकार र सडकमा पुगेको छ । त्यसको एउटै उद्देश्य पार्टीको संविधान संशोधनको एजेण्डा सम्बोधन होला कि भन्ने थियो । तर त्यसो हुन सकेन ।’

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ८ : ३२ बजे