रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको चिहान खोलामा गएराति आएको पहिरोले गाई–बाच्छा पुर्नुको साथै बस्ती जोखिममा परेको छ । अविरल वर्षापछि आएको पहिरोले स्थानीय चेली बसेलको गोठ पुर्दा गोठभित्र रहेका एक गाई र एक बाछो मरेका छन् ।
पहिरोका बारण स्थानीय झगरसिं बसेलको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । क्षतिग्रस्त संरचनाबाट परिवारलाई सकुशल निकालिएको भएपनि सम्पत्ति तथा आश्रय गुमाएका परिवार अहिले बिचल्लीमा परेको छ ।
१२ घरको बस्ती रहेको चिहानखोलामा पहिरोका कारण अन्य पाँच घर उच्च जोखिममा रहेका गाउँपालिकाले जनाएको छ । पहिरोको जोखिम कायमै रहेकाले ती घरका परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ ।
घटनापछि गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तान, उपाध्यक्ष खमला थपा, स्थानीय जनप्रतिनिधि तथा नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।
भौगोलिक रूपमा भिरालो र कमजोर भू–सन्तुलन भएका कारण बर्सेनि पहिरोको जोखिम झेल्दै आएको सो क्षेत्रको लेखर्क बस्तीमा गएको वर्ष भदौ महिनामा पहिरो जाँदा १० जनाको ज्यान गएको थियो । यस वर्ष पनि पहिरो चल्न सुरु भएपछि स्थानीय त्रसित भएका छन् ।
प्रतिक्रिया