Logo

Breaking News 1

भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका



काठमाडौं । आकर्षक रोजगारीको झुठो आश्वासनमा भारतका विभिन्न स्थानमा सयौं नेपालीहरु बन्धक बनाइएको पाइएको छ ।उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक उद्धारलगत्तै अन्य २२ नेपालीको आइतबार साँझ उद्धार गरिएको छ ।

गत बिहीबार नेपाली राजदूतावास, भारतीय प्रहरी र किन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीको अगुवाइमा ती नेपालीहरुको उद्धार गरिएको थियो। आइतबार राती साँझ थप २२ नेपालीको उद्धार गरिएको जोशीले नेपाल न्यूज बैंकलाई जानकारी दिए ।

जोशीका अनुसार आइतबार राती उद्धार गरिएका २२ जना मध्ये ९ जना नावालिग छन् । अन्य १८ वर्षमाथिका नेपाली छन। उनीहरुलाई जंगल क्षेत्रबाट भगाउँदै गर्दा उद्धार गरिएको जोशीले जानकारी दिए । बन्धक बनाउन सक्रिय गिरोहले उद्धारका लागि भारतीय प्रहरी, किन नेपालको उद्धार टोली आउँदै गरेको सूचना पाएपछि भागेको र बाँकी बन्धक बनाइएका नेपालीहरूलाई घर सारेर राखिरहेको जोशीले बताए ।

‘हामीले जंगलमा भगाउँदै गर्दा अहिले राती २२ जनालाई उद्धार गर्यौं । बन्धक बनाउने समुहका नाइकेहरुको अहिले भागाभाग भएको छ । कतिपयलाई उनीहरुले घर फेरेर लुकाइरहेको भन्ने सूचना आएको छ,’ जोशीले भने ।

निर्देशक जोशीका अनुसार गत बिहीबार उद्धार गरिएका ३५ जनालाई अदालती र प्रशासनीक प्रक्रिया पूरा गरेर मंगलबारसम्म नेपाल ल्याउने तयारी भइरहेको बेला थपको उद्धार भएको हो। अन्य पाँचसय बढी बन्धक बनाएको डाटाहरु आफूलाई प्राप्त भएको जोशीले जानकारी दिए ।

‘एक महिनासम्म निरन्तर खटिएर ठूलो हिम्मत र साहसका साथ ३५ नेपालीलाई उद्धार गर्न सक्षम भएका छौं। अन्य २२ जनालाई पनि हाम्रो सम्पर्कमा ल्याएका छौं । नेपालीलाई फसाउने गिरोहमध्ये एक नेपाली र दुई भारतीयलाई पक्राउ गरिएको छ र थप अनुसन्धान जारी छ,’ निर्देशक जोशीले भने ।

पीडितहरूलाई विभिन्न जिल्लाबाट झुक्याएर भारत पुर्याइ बन्धक बनाइएकै अवस्थामा कुटपिट, यातना र आर्थिक शोषण गरिएको थियो । घटनाको जानकारी पाएपछि परराष्ट्र मन्त्रालयको निर्देशनमा भारतस्थित नेपाली दूतावासले उत्तराखण्ड प्रहरी, किन इन्डियान नामक सामाजिक संस्थाको सहयोगमा असार ५ गते ३५ जनाको उद्धार कार्य सम्पन्न गरेको थियो।
किन इन्डियाका निर्देशक जोशीका अनुसार गिरोहले सोझा नेपालीहरुबाट ४० देखि ७० हजार रुपैयाँसम्म असुल्ने गरेको बताए । ‘यसरी गलत व्यक्ति र मानव तस्करहरुमार्फत महिनामा ५० जना नेपालीहरु भारतका विभिन्न ठाउँमा पुर्याइने गरेको हामीले पत्ता लगाएका छौं,’ उनले भने ।

आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाका युवालाई भारत बोलाएर बन्दी बनाउने गरिएको छ । उनीहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम असुली गर्ने गरिन्छ । जोशी विगत डेढ दशकदेखि भारतको दिल्लीमा बसेर मानव बेचविखनविरुद्धको अभियानमा सक्रिय रहँदै आएका छन् ।

नेपालका गाउँहरुबाट भारतका विभिन्न शहर र तेस्रो मुलुक जाने क्रममा दलालबाट ठगिएका, बेचिएका वा अलपत्र पारिएकाहरुलाई जोशीको नेतृत्वको संस्थाले उद्धार गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ९ : ३० बजे