Logo

खेलकुद

तेस्रो एमबीएएन स्पोर्ट्स मिट २०२५ शुक्रबारदेखि काठमाडौंमा शुरु हुँदै



काठमाडौं । नेपाल मर्चेन्ट बैंकर संघले तेस्रो संस्करणको ‘एमबीएएन स्पोर्ट्स मिट २०२५’ आयोजना गर्ने भएको छ। संघका अनुसार असार ६ र ७ गते काठमाडौंको हाडिगाउँस्थित धन्वन्तरी स्पोर्ट्स फुटसलमा हुने प्रतियोगितामा फुटसल, ब्याड्मिन्टन र टेबलटेनिसका विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।

संघका अध्यक्ष रामेन्द्र रायमाझीका अनुसार दुईदिने खेलकुद प्रतियोगितामा संघमा आवद्ध २६ मध्ये २२ वटा मर्चेन्ट बैंकले सहभागिता जनाउनेछन्।

फुटसलतर्फ पुरुषको १५ र महिलाको ८ टिम सहभागी हुने छन्। पुरुष विजेता टिमले ८० हजार नगद, शिल्ड र प्रमाणपत्र तथा उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन्। महिलातर्फ विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्तालाई पुरुष र महिला दुबै विधामा १०/१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

ब्याड्मिन्टनतर्फ पुरुष, महिला र भेट्रान्स डबल्स गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ। पुरुष र महिला विजेताले क्रमशः ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पाउने छन्। भेट्रान्स डबल्स विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा पुरुषतर्फ ६, महिलातर्फ ९ र भेट्रान्सतर्फ ५ टिम सहभागी छन्।

टेबलटेनिसमा पुरुष, महिला र भेट्रान्स सिंगल्स गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ। पुरुष सिंगल्समा २५, महिला सिंगल्समा ६ र भेट्रान्स सिंगल्समा ७ टिम सहभागी हुनेछन्। पुरुष र भेट्रान्स विजेताले समान १५ हजार तथा उपविजेताले १० हजार रुपैयाँ पाउनेछन्। महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

खेलकुदको माध्यमबाट मर्चेन्ट बैंकमा कार्यरत कर्मचारीबीच आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको व्यवस्थापनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिमा दयाकृष्ण घिमिरे, अमोद अधिकारी, विपीन नेपाल, सविन बुढाथोकी र विजय पोखरेल रहेका छन्।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १ : ४० बजे