काठमाडौँ – गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) ले अहिलेको विशिष्ट परिस्थितिका कारण राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले आफ्नो निर्वाचन बढीमा ६ महिनासम्म सार्न सक्ने निर्णय गरेको छ।
सर्वोच्च अदालतको परमादेश बमोजिम गत मे ३ र ४ तारिखमा काठमाडौँमा आयोजित एकता महाधिवेशनद्वारा निर्वाचित एनआरएनए आइसीसीका पदाधिकारीहरुको चौथो बैठकले त्यस्तो निर्णय गरेको प्रवक्ता गंगाधर गौतमले बताए ।
एनआरएनए आइसीसीका नवनिर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठ तथा महासचिव बाबु राम (बी आर) लामाद्वारा संघसंग आबद्ध सबै एनसीसीहरुलाई एक पत्र पठाउँदै एनआरएनए उच्चस्तरीय समितिले सर्वोच्च अदालतकै परमादेश अनुसार सम्पन्न संघको अधिवेशन र त्यसपछि उब्जिएका केही अन्यौलका कारण एनसीसीहरुलाई तोकिएको समयसीमा भित्र निर्वाचन गर्न चुनौती हुन सक्ने कुरालाई हृदयंगम गरी संघको चौथो पदाधिकारी बैठकले आवश्यकता अनुसार बढीमा ६ महिनासम्म राष्ट्रिय समन्वय परिषदहरुको निर्वाचन सार्न सकिने गरी निर्णय गरेको जानकारी गराएका छन् ।
“हामीलाई विश्वास छ कि यो निर्णयले संस्थालाई एकताबद्ध गरी स्वतन्त्र र समावेशी निर्वाचनको तयारी गर्न पर्याप्त समय मिल्नेछ। तसर्थ, विधानले तोकिएको मिति जुलाई १ देखि जुलाई ३१ भित्र निर्वाचन गर्न असमर्थ एनसीसीहरुले जुलाई ३१ बाट ६ महिना नबढ्ने गरी निर्वाचन गर्न गराउन जानकारी गराइन्छ,” पत्रमा उल्लेख छ।
यसबारे कुनै जिज्ञासा भए पदाधिकारीहरुलाई सम्पर्क गर्न पनि एनआरएनए आइसीसीले सबै एनसीसीहरुलाई आग्रह गरेको प्रवक्ता गौतमले बताए ।
प्रतिक्रिया