Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंकद्वारा प्लाष्टिक संकलनसहित हाइकिङ कार्यक्रम सम्पन्न, १५० केजी फोहोर संकलन



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिरसम्मको हाइकिङ तथा प्लाष्टिक फोहोर संकलन कार्यक्रम सम्पन्न गरेको छ। कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको सहकार्यमा सम्पन्न कार्यक्रममा करिब १५० केजी प्लाष्टिक फोहोर संकलन गरिएको बैंकले जनाएको छ।

हाइकिङ मार्गका विभिन्न स्थानमा स्थानीय समुदायले उत्पादन गरेका बाँसको डोका (डस्टबिन) राखिएको छ, जसले दीर्घकालीन फोहोर व्यवस्थापनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। संकलित फोहोरलाई कीर्तिपुर नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा हस्तान्तरण गरिएको छ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कीर्तिपुर नगरपालिकाका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी, बैंकका कर्मचारी तथा स्थानीय स्वयंसेवकहरूको उपस्थिति रहेको थियो।

बैंकले वातावरण संरक्षण र जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पुर्‍याउने उद्देश्यले देशभर वृहत् वृक्षारोपण कार्यक्रम समेत सञ्चालन गरेको छ। आफ्नो १८औँ वार्षिकोत्सवको अवसर पारेर बैंकले देशका विभिन्न स्थानमा १८ हजार बोट विरुवा रोप्ने लक्ष्य राखेको छ।

ग्लोबल आइएमई बैंकले बैंकिङ सेवासँगै स्वदेशी उत्पादन प्रवर्द्धन, वातावरणीय संरक्षण तथा दिगो विकासमा समेत सक्रिय भूमिका खेल्दै आएको जनाएको छ।

हाल बैंकको देशभर ३५४ शाखा कार्यालय, ३८५ एटीएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।

ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड २०२४” तथा युरो मनीको “अवार्ड फर एक्सलेन्स २०२४” अन्तर्गत नेपालकै सर्वश्रेष्ठ बैंकको रूपमा समेत सम्मान प्राप्त गरेको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ११ : ०२ बजे