काठमाँडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले समाजवादी मुलुक निर्माण आफूहरुको लक्ष्य रहेको बताएका छन् । बस्नेतले कांग्रेस कम्युनिष्टबाट मुलुक बन्न सक्दैन भन्ने निष्कर्षका साथ पार्टी पंक्ति वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा जुटेको बताएका हुन् ।
पार्टी सङ्गठन सुदृढ गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको जसपा नेपालले सङ्गठन रहेको अधिकांश पार्टी समितिको अधिवेशन सम्पन्न गरिसकेको र अधिवेशनबाट निर्वाचित पदाधिकारी, सदस्यहरु सहितका पार्टी सदस्यहरुलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरुले मुलुकमा समाजवादी पार्टी निर्माणको आवश्यकता र औचित्यबारे प्रशिक्षण दिइरहेको बस्नेतले बताए ।
उनले भने, ‘विभिन्न मुलुकमा रहेका प्रवासी नेपालीहरुको सङ्गठन निर्माण र परिचालनका साथै अन्तर्राष्ट्रिय सङ्घ, संस्थाहरुसँग भाइचारा सम्बन्ध विस्तार गरी पार्टीलाई थप सुदृढ गर्दै लगिएको छ । समाजवादी पार्टीको नेतृत्वमा समाजवादी मुलुक निर्माण हाम्रो लक्ष्य हो ।’
प्रतिक्रिया