काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई पराजित गरेकाे छ ।
स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भर्खरै सम्पन्न भएको खेलमा नेपालले स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै विजयी भएको हो । दुई सय ९७ रनको लक्ष्य पछ्याएको नेपालले ४९ दशमलव पाँच ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालको जितमा करण केसी नायक बनेका छन् । उनले ४१ बलमा तीन चौका र चार छक्काको सहयोगमा अविजित ६५ रन जोडे । त्यसैगरी ओपनर कुशल भुर्तेलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोड्दै अर्धशतक बनाए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ९६ रन बनाएको थियो ।
स्कटल्याण्डका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन जोडे । उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरे । फेन्ली म्याक्रिथले ६७ बलमा तीन चौका र एक छक्काको सहयोगमा ५५ रनमा आउट भए ।
नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान दुई र सन्दीप लामिछानेले एक विकेट लिए । नेपालले अब नेदरल्यान्डससँग यही जेठ २१ गते खेल्नेछ ।
प्रतिक्रिया