Logo

Breaking News 1

रुस र युक्रेनबीच आक्रमण जारी, विस्फोटपछि धेरै स्थानमा आगलागी



एजेन्सी । रुसी सेनाले धेरै दिशामा कारबाही जारी राखेको बताएको छ । तर युक्रेनले धेरै रुसी आक्रमणहरूलाई विफल पारेको दाबी गरेको छ ।

आफ्नो दैनिक व्रिफिङमा रूसी रक्षा मन्त्रालयले रुसी सेनाले मे १७ देखि २३ सम्म सुमी, खार्किभ र डोनेट्स्कमा छ वटा बस्तीहरू नियन्त्रणमा लिएको जनाएको छ ।

रूसी सेनाले युक्रेनी ट्याङ्कहरू, बख्तरबंद सवारी साधनहरू, तोपखानाहरू, इलेक्ट्रोनिक युद्धका लागि आधार स्टेशनहरू र गोला बारुद डिपोहरू नष्ट गरेको दाबी पनि गरेको छ ।

रूसी वायु रक्षा प्रणालीले रकेट प्रोजेक्टाइल र युक्रेनी सेनाका एक हजार भन्दा बढी ड्रोनहरूलाई रोकेको मन्त्रालयले जनाएको छ । सोही दिन, युक्रेनी पक्षले अग्रपंक्तिमा १४१ लडाईं भएको जनाएको छ ।

युक्रेनी हवाई, क्षेप्यास्त्र र तोपखाना बलले धेरै रूसी पक्षहरुलाई आक्रमण गरेको युक्रेनी सशस्त्र बलका जनरल स्टाफले जानकारी दिए ।

युक्रेनी सेनाले खार्किभ, लिमन, टोरेत्स्क, पोकरोभस्क र कुस्र्क जस्ता स्थानहरुमा रुसी आक्रमणहरूलाई विफल पारेको र रुसी ट्याङ्क, बख्तरबंद सवारी साधन, तोपखाना प्रणाली, ड्रोनहरु नष्ट गरेको दाबी गरेको छ ।

शनिबार बिहान युक्रेनको राजधानी किभमा रूसी क्षेप्यास्त्र र ड्रोनले आक्रमण गरेको थियो, शहरभरि विस्फोटको आवाज सुनिएको थियो । हवाई हमलामा कम्तिमा आठ जनाको मृत्यु भएको र विस्फोटका कारण शहरभरि धेरै ठाउँमा आगो लागेको बताइएको छ ।

युक्रेनी वायुसेनाले रुसले किभमा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको बताएको छ। युक्रेनी मिडियाहरुका अनुसार युक्रेनको आकाशमा ५० वटा आक्रमणकारी ड्रोनहरू पत्ता लागेको र जसमध्ये धेरैजसो किभतर्फ गइरहेका थिए। (सीसीटीभीप्लस)

प्रकाशित मिति : १० जेष्ठ २०८२, शनिबार  ११ : १९ बजे