काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) ले भारत सरकारको आदेशमा आठ हजारभन्दा बढी खाता भारतमा प्रतिबन्धित गरेको छ। कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिमा कानुनी कारवाहीको सम्भावनालाई दृष्टिगत गर्दै आदेशको पालना गरिएको उल्लेख गरिएको छ। प्रतिबन्धित खाता अधिकांश पाकिस्तानका पत्रकार, विश्लेषक र मिडिया संस्थासँग सम्बन्धित रहेका छन्।
भारत सरकारले दिएको आदेश अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आक्रमणपछि आएको हो, जसमा २६ जना भारतीय पर्यटकको ज्यान गएको थियो। भारतले उक्त आक्रमणका लागि पाकिस्तानसमर्थित आतंककारी समूह लश्कर-ए-तैयबा र द रेजिस्टेन्स फ्रन्टलाई जिम्मेवार ठहर गरेको छ। यस घटनापछि भारत र पाकिस्तानबीचको कूटनीतिक सम्बन्ध थप तनावग्रस्त बनेको छ।
बीबीसीका अनुसार, प्रतिबन्धित खाताहरूमा पाकिस्तानका टेलिभिजन च्यानल डन, जियो न्यूज र धेरैजसो पाकिस्तानी पत्रकारका खाता रहेका छन्। एक्सले उक्त खाता भारतमा मात्र प्रतिबन्धित गरिएको र विश्वका अन्य भागमा ती खाता चलायमान नै रहने स्पष्ट पारेको छ।
एक्सको ग्लोबल गभर्नमेन्ट अफेयर्स ह्यान्डलबाट जारी विज्ञप्तिमा भनिएको छ, “हामी भारत सरकारको आदेशसँग सहमत छैनौं। तर, भारतमा सेवा निरन्तर राख्न आदेशको पालना गरिएको हो।” कम्पनीले यसलाई “अनावश्यक सेन्सरसिप”को संज्ञा दिएको छ र कानुनी विकल्पको खोजी भइरहेको जनाएको छ।
यसअघि पनि एक्सले भारत सरकारविरुद्ध डिजिटल सेन्सरसिपसम्बन्धी मुद्दा अदालतमा दायर गरिसकेको छ। सामाजिक सञ्जाल र वेबसाइटमाथि नियन्त्रण बढिरहेको सन्दर्भमा भारत सरकारप्रति आलोचना बढ्दो छ। द वायर लगायतका सञ्चारमाध्यमले आफ्ना वेबसाइट इन्टरनेट सेवा प्रदायकमार्फत रोकिएको बताउँदै खुला सेन्सरसिप भएको आरोप लगाएका छन्।
प्रतिक्रिया