Logo

मुख्य समाचार

राजावादीहरूको एकता कसैले टुटाउन सक्दैन् : कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले अब कसैले चाहेर पनि राजावादीहरूको एकता नटुट्ने बताएका छन् ।

राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले हिन्दु राष्ट्रको र राजसंस्थाको एजेण्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गरिरहने संकल्पका साथ एक ठाउँमा भेला भएको बताएका हुन् ।

उनले भने, ‘आज हामी सबै राष्ट्रवादीहरु, राजावादीहरु, हिन्दुवादीहरु, प्रजातन्त्रवादीहरु एक ठाउँमा एकजुट भएर उभिएका छौं । केवल एक पटक भाषण गर्नको निम्ती मात्रै मञ्चमा उभिएका होइनौं । हामीहरु हिन्दु राष्ट्रको र राज संस्थाको एजेण्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गरिरहने संकल्पका साथ एक ठाउँमा भेला भएका छौं । हाम्रो एकतालाई अब कसैले चाहेर पनि कमजोर पार्न र टुटाउन फुटाउन सक्दैन ।’

साथै उनले राष्ट्रवादी शक्तिहरु एकतावद्ध भएर चाँडै भ्रष्ट व्यवस्था र कुशासनबाट मुलुकलाई मुक्त तुल्याउने बताए । उनले हिन्दु राष्ट्रको पुनःस्थापना गरी आर्थिक सुशासन कायम गर्ने दाबी समेत गरे ।

उनले भने, ‘एकताबद्ध भएर हामी चाँडै नै भ्रष्ट व्यवस्था र  भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने र हिन्दु राष्ट्र र राजसंस्था  पुनस्र्थापना गरी शुसासन र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने अवस्थासम्म एकताबद्ध रहने छौं ।’

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ५ : २६ बजे