काठमाडौं । भारतले मंगलबार राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा गरेको हवाई आक्रमणपछि भारत–पाकिस्तानबीचको तनाव तीव्र बनेको छ।
भारतको ‘अप्रेसन सिन्दुर’ अन्तर्गत राति १ः०५ देखि १ः३० बजेसम्म पाकिस्तानमा गरिएको आक्रमणमा २६ पाकिस्तानी सर्वसाधारणको मृत्यु भएको र ४६ जना घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ। भारतीय सेनाका अनुसार सोही रातदेखि पाकिस्तानको जवाफी कारबाहीमा १५ भारतीय सर्वसाधारणको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन्।
टकरावका क्रममा दुवै देशमा गरी ४१ जनाको मृत्यु र ८९ जना घाइते भएका छन्।
उक्त तनावबारे अन्तर्राष्ट्रिय समुदायले गहिरो चासो व्यक्त गर्दै दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। रुस, चीन, अमेरिका, बेलायत, फ्रान्स, जापान, टर्की, यूएई, इरान र संयुक्त राष्ट्रसंघले युद्धको जोखिम बढेको भन्दै चासो जनाएका छन्।
रुसले जारी विज्ञप्तिमा दुवै पक्षलाई शान्तिपूर्ण संवादमार्फत समाधान खोज्न आग्रह गर्दै आतंकवादको निन्दा गरेको छ। अमेरिकाले भारतको आक्रमणलाई ‘लज्जास्पद’ भन्दै वार्ताको माध्यमबाट समाधान खोज्न आह्वान गरेको छ।
चीन, पाकिस्तानको रणनीतिक साझेदार रहेकोले भारतको कारबाहीप्रति खेद व्यक्त गर्दै क्षेत्रीय स्थायित्वका लागि संयमता आवश्यक रहेको बताएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नियन्त्रण रेखा आसपासको सैन्य गतिविधिप्रति चिन्ता जनाएका छन्।
बेलायत, फ्रान्स, जापान, टर्की र इरानले पनि सैन्य तनाव घटाउन आग्रह गर्दै द्विपक्षीय संवादको पक्षमा जोड दिएका छन्।
प्रतिक्रिया