संखुवासभा । मकालु हिमाल आरोहणको क्रममा एक अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ। संखुवासभाको मकालु गाउँपालिका–१ मा पर्ने मकालु हिमालमा आरोहणको क्रममा ३९ वर्षीय अमेरिकी नागरिक एलेक्स जेण्डर पन्काओको आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
पन्काओ ‘हिमालयन गाइड्स’ ट्रेकिङ कम्पनीमार्फत मकालु हिमाल आरोहणका लागि नेपाल आएका थिए। प्रहरी निरीक्षक अभिषेक श्रेष्ठका अनुसार उनी तेस्रो क्याम्पसम्म पुगेपछि दोस्रो क्याम्प फर्कँदै गर्दा बाटोमै निधन भएको हो।
मकालु आरोहणका लागि पन्काओ सहित चार नेपाली गाइड र तीन जना विदेशी नागरिकको टोली २७ अप्रिलमा सोलुखुम्बु हुँदै संखुवासभा पुगेको थियो। फ्रान्सका दुई नागरिक सकुशल रहेको जनाइएको छ।
हाल घटनास्थल सदरमुकाम खाँदबारीबाट करिब १२ दिनको पैदल दूरीमा रहेको हुँदा प्रहरी टोली घटनास्थल पुग्न हिँडेको छ। प्रहरीका अनुसार, भौगोलिक रूपमा दुर्गम र सञ्चार सुविधा नभएको क्षेत्र भएकाले उद्धारमा कठिनाइ भइरहेको छ। मृतकको शव हेलिकोप्टरमार्फत ल्याउन ट्रेकिङ कम्पनीसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
मृत्युको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
प्रतिक्रिया