काठमाडौं । काठमाडौंको पिंगलास्थानबाट ९५ लाख १७ हजार ५०० रुपैयाँसहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसरको विशेष टोलीले शंकास्पद रूपमा गुडिरहेका दुई मोटरसाइकल रोकेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा तारकेश्वरका समुन्द्र जमकट्टेल, सप्तरीका गणेश राई, लमजुङका सन्तोष गुरुङ र सन्तोष घिमिरे रहेका छन्। रकमको वैधानिक स्रोत नखुलेपछि हुन्डी कारोबारको आशंकामा अनुसन्धान थालिएको प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।
मुलुकी फौजदारी संहिता, २०७४ को दफा १२५ (क) अनुसार हुन्डी कारोबार गैरकानुनी मानिन्छ र एक वर्षसम्म कैद सजायको व्यवस्था छ। राष्ट्र बैंकको नियम अनुसार ९ लाख ९९ हजार ९९९ रुपैयाँभन्दा बढी रकमको स्रोत खुलाउनु अनिवार्य छ।
एसपी बोहराका अनुसार १० लाखभन्दा कम बोके पनि आपराधिक उद्देश्य भेटिए अनुसन्धानको दायरामा ल्याइनेछ।
प्रतिक्रिया