सोलु । सोलुखुम्बुको खुम्जुङ उपत्यका पर्यटकीय क्षेत्र हो । हरित उपत्यकाका नामले चिनिने खुम्जुङ नाम्चेभन्दा केही माथि पर्छ । बसन्तकालिन सिजनमा सगरमाथा आरोहण र आधार शिविरसम्म पुग्ने पर्यटकहरु खुम्जुङमा रमाइलो गर्ने गर्छन् ।

समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटरको उचाइमा रहेको खुम्जुङ उपत्यका अन्तर्राष्ट्रियस्तरमा परिचित हुन थालेको छ । यहाँका सबै घरहरुमा हरियो रंगको जस्तापाताले छाइएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने यो उपत्यका पर्यावरणीय दृष्टिले पनि महत्वपूर्ण मानिन्छ ।
खुम्जुङ पुग्न सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट पैदल चारदेखि पाँच दिन लाग्छ भने हवाई यात्रा मार्फत लुक्लाबाट तीन दिन लाग्छ । रहस्यमय जीव यतीको टाउकोको छाला यही उपत्यकाको खुन्देस्थित गुम्बामा रहेकाले पर्यटकहरु झुम्मिने गरेका छन् ।
शेर्पाहरुको पुरानो गाउँको रुपमा चिनिने हिमालको फेदीमा रहेको यो गाउँबाट आमाडबलम हिमालको सुन्दर दृश्य देख्न सकिन्छ।


प्रतिक्रिया