रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
स्थानीय समावेशी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो वार्षिक उत्सवको अवसर पारेर स्वास्थ्य शिविर आयोजना गरेको हो । मन्थली नगरपालिका, मन्थली अस्पताल, रामेछाप रेडक्रससँगको सहकार्य र समन्वयमा भएको शिविरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।
शिविरमा आँखा तथा दाँतको उपचकारका साथै अन्य स्वास्थ्य परीक्षण, उपचार र औषधी वितरण गरिएको छ । स्वास्थ्य परीक्षणको क्रममा धेरैमा नसर्ने रोगको समस्या देखिएको मन्थली अस्पतालका प्रमुख डाक्टर केशवसिंह धामीले जानकारी दिए । ‘धेरै जनामा उच्च रक्तचाप, मधुमेह लगायत नसर्ने रोग देखिएको छ, उच्च रक्तचापका बिरामी धेरै देखिएका छन्’, उनले भने ।
खानपान र व्यवहारका कारण यस्ता रोग लाग्ने भएकाले यस्ता रोग नियन्त्रणको लागि आहार, व्यवहारमा नै परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए । नेवार समुदायमा भोजहरू बढी हुने भएकाले पनि त्यसको प्रभाव स्वास्थ्यमा परेको हुन सक्ने उनको धारणा छ ।
वडाका ज्येष्ठ नागरिकलाई बढी लक्षित गरेर शिविर आयोजना गरिएको मन्थली नगरपालिका–८ चिसापानीका वडाध्यक्ष गोपाल श्रेष्ठ बताउँछन् । यस्तो शिविर वडामा हरेक वर्ष राख्ने गरिएको उनले जानकारी दिए ।
शिविरमा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख केशव फुयाँल लगायत सहभागी थिए ।
प्रतिक्रिया