कैलाली । कैलाली बहुमुखी क्याम्पसमा जारी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आचारसंहिता उल्लंघन भएको भन्दै नेपाली कांग्रेसका तीन पदाधिकारीमाथि कारबाहीको माग गरिएको छ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) निकट विद्यार्थीहरूद्वारा दर्ता गरिएको उजुरीमा जिल्ला सचिव केशव मिश्र, केन्द्रीय सदस्य घनश्याम बम र पूर्व कोषाध्यक्ष अम्बिका चौधरीमाथि संगठनविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाइएको हो।
उजुरी अनुसार, २०७९ सालको स्ववियु निर्वाचनमा चौधरीलाई मात्रै पार्टीको आर्थिक सहयोग दिइएको थियो। हाल पुनः उनलाई स्वतन्त्र उम्मेदवार बनाएर आधिकारिक उम्मेदवारहरूलाई असहयोग गरिएको बताइएको छ। बमले चौधरीको पक्षमा खुलेर प्रचार गरेको, ‘स्वतन्त्र जिताऔं’ अभियान चलाएको पनि उल्लेख छ।
नेविसंघ इकाइले पार्टी र संगठनको मर्यादा उल्लंघन गर्नेहरूमाथि छानबिन गरी आवश्यक कारबाही गर्न अनुरोध गरेको छ। उजुरी कांग्रेस अनुशासन समिति, नेविसंघ केन्द्र र जिल्ला समितिमा बुझाइएको छ।
प्रतिक्रिया