Logo

राजनीति

एमालेको पूर्वराजालाई आग्रह: ‘गणतन्त्र उल्ट्याउने व्यर्थ प्रयास नगर्नुहोस्’



काठमाडौं । नेकपा (एमाले)ले राजतन्त्र पुनर्स्थापना गर्ने ‘व्यर्थको प्रयत्न’मा नलाग्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेको छ। सोमबार च्यासलमा बसेको पार्टी सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जनताले अस्वीकार गरिसकेको व्यवस्थालाई पूर्वराजाले अझै नबुझेको बताए।

“उहाँको मनमा गणतान्त्रिक प्रणाली बदल्न सकिन्छ कि भन्ने आशा देखिन्छ, त्यो व्यर्थको कुरा हो,” ज्ञवालीले भने, “त्यो ढंगका कुनै पनि प्रयासमा उहाँ नलागे हुन्छ।”

पूर्वराजाले दिएको ‘जनताको असन्तुष्टि नसुन्ने तन्त्र नहुने’ भन्ने अभिव्यक्तिप्रति पनि ज्ञवालीले आपत्ति जनाए। “उहाँले शासन चलाएको बेला के थियो, मान्छेले देखिसकेका छन्। जनताका अधिकार खोस्ने र सम्झौता उल्लंघन गर्ने तन्त्रलाई नै जनताले अस्वीकार गरेका हुन्,” उनले भने।

ज्ञवालीले चैत १५ गतेको तीनकुने घटनापछि पनि पूर्वराजामा कुनै पश्चाताप नदेखिएको उल्लेख गरे। “त्यत्रो दुर्घटना भयो, जनताले अस्वीकार गरे, तर उहाँमा कुनै रिग्रेट देखिएन,” उनले भने, “एउटा नागरिकको हैसियतले अहिलेको प्रणालीलाई सहयोग गर्ने चाहना पनि उहाँबाट देखिएन।”

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ८ : १० बजे