काठमाडौं । आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दुईवटा विकल्प प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले तत्काल सम्बोधन हुने माग मन्त्रिपरिषद् बैठक बसेर आजै टुंगो लगाउन सकिने उनको भनाइ छ । संसद्बाट गर्नुपर्ने काम गर्न संसद्को अधिवेशन बोलाउनुपर्ने उनले बताएका छन् ।
‘शिक्षकले अघि सारेका १५ वटा माग मन्त्रिपरिषद् बैठकबाट सम्बोधन गर्न सकिन्छ । यसलाई आजै मन्त्रिपरिषद् बैठक बसेर निर्णय गरौँ,” सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भने, ‘कतिपय सम्बन्धित मन्त्रालयले निर्णय गरेर गर्न सकिने कामहरू छन् । यो कामलाई तत्काल आजै गरौँ ।’
नयाँ शैक्षिक सत्र नजिक आइसकेकोले तत्काल मन्त्रिपरिषद् बैठकबाट शिक्षकका मागबारे निर्णय गरेर उनीहरुलाई विद्यालयमा फर्काउनु पर्ने विकल्प उनले दिएका छन् । शिक्षकहरुका केही माग सम्बन्धित मन्त्रालयले नै निर्णय गरेर सम्बोधन गर्न सक्ने उनको भनाइ छ ।
शिक्षकको मुख्य माग शिक्षा ऐन जारीको विषयमा महामन्त्री थापाले आगामी बर्खे अधिवेशनको सुरुमै विधेयक पारित गर्ने गरी समझदारी गर्न सरकारलाई सुझाव दिएका छन् । यसले विश्वासको वातावरण बन्ने र विधेयक फास्टट्रयाकबाट पारित गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया