Logo

समाचार

जनताको बिचार बोक्न नसक्ने पार्टी मात्रै बुढो हुन्छ : डा. राजन भट्टराई



रामेछाप । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा.राजन भट्टराईले पार्टी कमिटीलाई विधिसम्मत रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन् ।

नेकपा एमाले सिन्धुलीको पाँचौँ सचिवालय बैठकमा बोल्दै भट्टराईले राजनीतिक दलले जनताको बिचार बोक्न सक्नु पर्ने बताए । जनताको विचार बोकेर समय अनुसार परिमार्जित हुँदा अघि बढ्ने पार्टी सधैँ नयाँ हुने उनको धारणा छ । ‘जनताको  बिचार बोक्न नसक्ने पार्टी मात्रै बुढो हुने हो’, भट्टराईले भने । 

नेकपा एमाले स्पष्ट विचार र दृष्टिकोण बोकेको पार्टी भएकोले यो पार्टी सधैँ नयाँ हुने उनको भनाइ छ । जनताको बहुदलीय जनवाद बोकेर अघि बढेको पार्टी भएकोले एमाले सधैँ नयाँ जोस, विचार र सोचका साथ अघि बढेको भट्टराईको धारणा छ ।

एमालेले समाजलाई हानी हुने काम कहिल्यै पनि नगर्ने बताउँदै उनले  एमाले गलत गर्नेलाई बचाउने पार्टी पनि नभएको स्पष्ट पारे । एमालेले जरा केन्द्रित अभियानका क्रममा जनताको समस्या र गुनासो सुन्ने र त्यसको सम्बोधन हुने गरी नीति बनाउने उनको धारणा छ । उनले एमालेका नेता कार्यकर्तालाई जनताबाट टाढा नबस्न निर्देशन दिए ।

बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज मनोजजंग थापाले सिन्धुलीमा पार्टीको जरा अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताए । पार्टीका नेताहरूलाई अभियानमा अझ सक्रियताका साथ लाग्न उनले आग्रह गरे ।

बैठकले पार्टी सदस्यता नवीकरण र विस्तारको काममा लाग्ने बैशाख ६ र ७ गते जिल्ला कमिटीको बैठक गोलञ्जोर गाउँपालिकाको खनियाखर्कमा आयोजना गर्ने,  चैत ३० गते नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ ।

जिल्ला पार्टी अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय सदस्यहरू गणेशकुमार पहाडी, विषमलाल अधिकारी दनुवार, कमलजङ्ग राई, उमा कोइराला, सुवास देवकोटा, निरु दर्लामी लगायत सहभागी थिए ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १ : ४५ बजे